सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल ।

आज मिति २०८२ श्रावण १४ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसंग भेटगरी सो विभागले ल्याउन लागेको सवारी साधन आयात उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा विस्तृत छलफल गरेको छ । 
उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माँग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माँग, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा GPS अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो ।
सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राख्नु भयो । यसै क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउनु हुदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गर्नु भयो ।
सो बैठकमा उपस्थित हुनु भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताउनु भयो । 
छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउनु हुदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताउनु भयो । सोही छलफलको क्रममा उँहाले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपुरकको रुपमा उभिने बताउनु हुदै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने बताउनु भयो । 
विभागसंग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासंग सहकार्य गरेर अघि बढन सकिने बताउनु हुदै सहि समयमा सही छलफल भएको धारणा राख्नु भयो । उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
 

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush